एजेन्सी, ११ भदौं । भारतले रसियानिर्मित एस–४०० ट्रियुम वायु प्रतिरक्षा मिसाइलको पहिलो खेप सन् २०२३ सम्ममा पाइसक्ने भएको छ । रसियाले चाहिँ त्यसका लागि भुक्तानीको पहिलो किस्ता ‘चाँडै’ पाउने आशा गरेको छ । ‘हामीले एस–४०० का पाँच दस्तामध्ये पहिलो खेप सन् २०२३ भित्र डेलिभर गरिसक्ने छौं,’ भारतका लागि रुसी दूतावासका उपप्रमुख रोमन बाबुस्किनले बुधबार भने ।
रुसी व्यापार आयुक्त यारोस्लाभ टारास्युकका अनुसार भारतले मिसाइल सम्झौताअनुसारको कुल मूल्य ५ दशमलव २ विलियन डलरमध्ये २० प्रतिशत भुक्तानी चाँडै नै गर्नेछ । पहिलो किस्ता भुक्तानीलगत्तै पहिलो खेपको मिसाइल पठाउने, त्यसैगरी अन्य खेप पनि पठाउँदै जाने द्विपक्षीय सम्झौता छ । नयाँदिल्लीमा शाखा रहेको रुसी एसबर बैंकमार्फत् भारत सरकारले भुक्तानी पठाउने सहमति छ । मस्कोसँग ती घातक मिसाइल किनेको खण्डमा अमेरिकाले प्रतिबन्ध लगाउने खतरा भारतमाथि छ ।
अमेरिकाले काट्सा (काउन्टरिङ अमेरिकाज एडभर्सरिज थु्र स्याङ्सन) मार्फत् भारतमाथि प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ। वासिंगटनले चीनमाथि यस्तो कदम चालिसकेको छ। उसले हालै मात्रै रुससँग मिसाइल खरिद गर्ने टर्कीमाथि समेत यस्तै कारबाही अगाडि बढाउने तयारी गरिरहेको छ।
यसैबीच, भारतीय विदेशमन्त्री एस जयशंकर अहिले रुस भ्रमणमा छन् र रुसी समकक्षी सर्गेइ लाभारोभसँग भेटेका छन् । आउने महिना भारतीय विदेशमन्त्री नरेन्द्र मोदी भाल्दीभोस्तोकमा हुने इस्र्टन इकोनोमिक फोरममा सहभागी हुने कार्यक्रम छ । त्यसको केही सातामै भारत र अमेरिकाबीच वासिङगटनमा मन्त्रीस्तरीय संवादको दोस्रो चरणको कार्यक्रम हुँदैछ । सो अवसरमा काट्साअनुरुपको प्रतिबन्ध छल्नका लागि कुटनीतिक पहल भारतले गर्ने अपेक्षा छ।