जनकपुरधाम, १३ भदौं । जनकपुरधाममा नरीवल बेच्ने बालकलाई कुटपिट गर्ने प्रहरीलाई कार्वाही गरिने भएको छ ।
जानकी मन्दिर प्राङ्गणको पर्यटक प्रहरी इन्चार्ज असई विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको हो । धनुषा प्रहरी प्रमुख शेखर खनालले ईन्चार्ज यादव र प्रहरी जवान यादवलाई कार्वाही गरिने प्रकृया शुरु गरिएको बताए ।
‘तत्काल स्पष्टिकरण पत्र दिएका छौं’ उनले भने, “स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।”
जनकपुरधामको जानकी चोकस्थित फुटपाथमा नरीवल बेच्ने १६ बर्षीय बालक रोशन चौधरीलाई प्रहरी जवान यादवले कुटपिट गरेका थिए । रकम मागेको र नदिएपछि यादवले कुटपिट गरेको बालकले बताए ।
यस्तै, बालकलाई कुटपिट गरेको भिडियो खिंच्ने युवा अभियन्ता सुशील कर्णलाई समेत प्रहरीले कुटपिट गरेका थिए । यी दुबैलाई कुटपिट गरिएको बिरोधमा स्थानीयहरुले जानकी चोकमा टायर बालेर प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीले जानकी चोकमा सडक अवरुद्व गरी टायर बालेर प्रदर्शन समेत गरेका थिए । त्यस क्रममा केहि बेर यातायात अवरुद्व भएको थियो । स्थानीयहरुले प्रहरीको ज्यादतीबिरुद्व जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि समेत प्रदर्शन गर्दै चर्काे नाराबाजी गरेका थिए ।
स्थानीयहरुको प्रदर्शनपछि जिल्ला प्रहरी कार्यालयले असई र जवानलाई कार्वाही गर्न तयार भएको हो । बिहीबार दिउँसो जानकी चोकमा नरीवल बेच्ने क्रममा जवान यादवले बालकलाई कुटपिट गरेका थिए ।