काठमाडौं, १५ भदौं । अवरुद्ध बैंकहरुको एटिएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशिया बाहेकका बैंकहरूको एटिएम सेवा सञ्चालनमा आएको हो । सर्भर डाउन हुँदा आइतबार अधिकांश एटिएम अवरुद्ध बनेको थियो ।
ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो । आइतबार बिहान भने प्रभु र एनआईसी एशिया बाहेकका बैंकको एटिएम सेवा चल्न थालेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटिएम सेवा सञ्चालनमा आएको जनाएको छ । प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने उसको भनाइ छ । ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए ।
धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । बाँकी समस्या समाधान गर्ने कोशिस भइरहेको उनको भनाइ छ ।