राजविराज, १५ भदौं । ठगी गर्ने अनेक धन्दा चलाउँछन् अपराधीहरु । तर सप्तरीका एक युवक नयाँ तरिका अपनाएर बलात्कार र लुटपाट गरिदै आएको रहस्य खुलेको छ ।
यसरी लुटपाट र बलात्कार गर्ने युवक हुन्– सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका २ सीतापुरका २९ वर्षीय सन्तोष कुमार यादव । उनलाई मोरङको विराटनगरबाट पक्रेर ईलाका प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको हो ।
सामाजिक सञ्जाल ‘इमो’मार्फत् महिला तथा युवतीहरूसँग सम्पर्क स्थापित गरी जागिर दिने बहानामा बोलाएर लुटपाट र बलात्कार समेत उनले गरिदै आएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जागिरको बहानामा सप्तरी, सुनसरी र मोरङका सयौं महिला तथा किशोरीहरूलाई लुटपाट र बलात्कार गरेको उनीमाथि आरोप छ ।
कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीविरुद्ध आधा दर्जन उजुरी परेको छ । प्रहरीमा दर्ता भएका उजुरीबाहेक अन्य १६ वटा घट्नामा आफनो संलग्नता रहेको उनले स्वीकार समेत गरेका छन् ।
उनले ‘रोजगारी जब लिंक नेपाल’ नामको नक्कली संस्था श्रृजना गरी आफूलाई त्यसको म्यानेजर भएको बताउने गरेका थिए । प्रहरीबाट बच्न उनले आफ्नो नामसमेत परिवर्तन गरी सञ्जीव खड्का बताउने गरेका थिए । उनी तीन वर्षदेखि यस्तो अपराध गरिदै आएको प्रहरीको दावी छ ।