जनकपुरधाम २० भदौ । बैंकबाट लिएको ऋण तिर्न ढिलाइ भएपछि एक विपन्नको घरमा ताल्चा लगाएपछि पुरै परिवार नै बिचल्लीमा परेका छन् । जनकपुरधाम–१४ रजौलका बजरंगी पासवानले ऋणको किस्ता तिर्न ढिलाइ भएपछि उनको घरमा छिमेकी बिकास बैंकले ताल्चा लगाएको हो । बैँकले घरमा ताल्चा लगाएपछि उनि मन्दिर लगायतका सार्वजनिक स्थानमा दिन गुजार्न बाध्य भएका छन् ।
बैंकका कर्मचारी र महिला समूहले घरमा ताला लगाएर घर निकाला गरेको पीडितले गुनासो गरेका छन् । घर निकाला गरिएका परिवारका सदस्य अहिले बालबच्चा सहित दुई दिनदेखि जानकी मन्दिरको प्रांगनमा भोकभोकै बसिरहेको पीडितले बताए ।
पासवानले विगत करिब दुई महिनादेखि मासिक किस्ता तिर्न नसक्दा बुधबार बैंकका कर्मचारी र स्थानीय महिला समूह आएर घरमा ताला लगाएर निकाला गरेको पीडित बजरंगी पासवानले हामीसंग पीडा सुनाए । ’समूहबाट ४ लाख ५० हजार ऋण लिएका छौं,’पासवानले भने,’अहिलेसम्म नियमित १८ हजारका दरले मासिक किस्ताको रकम तिर्दै आएको छु ।’
गत दुई महिनाको किस्ता तिर्न बाँकी रहेका बेला बैंकका कर्मचारी र समूहका महिलाहरु घरमै आएर ताला लगाई घर निकाला गरेको उनको गुनासो छ । घरबाट निकालिएको विषयमा बैंकका जनकपुर शाखा प्रमुख सुजित झाले पासवानको घरमा महिला समूहले ताला लगाएको बताए ।
महिला समूहमार्फत समूह जमानीमा लगानी रहेको र ऋण उठाउन महिलाहरूले आफैंले निर्णय गर्ने गरेको पीडित पासवानी पत्नी ज्ञानुदेवी पासवानले बताइन् । जनकपुरमा मात्रै ३० जना महिलाको समूह गठन गरेर छिमेकी बैंकले करोडौं रुपैयाँ ऋण लगानी गरेका छन् ।
महिलाहरू चर्को ब्याज र किस्ताबन्दीमा ऋण तिर्न बाध्य भएको र ऋण तिर्न नसक्दा घर निकाला गरिएको परिवारले पीडा सुनाएका छन् । बैंकहरूले यसरी लगानी गरेको ऋणको ब्याज, सेवा शुल्क गरी करिब २५ प्रतिशतभन्दा बढी ब्याज लिने गरेको पीडित परिवारले बताएका छन् ।
- खोजकेन्द्र फेसबुक पेजबाट