जनकपुरधाम, २१ भदौं । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धा आश्रमका वृद्धाहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको छ ।
शनिबार बिहान व्युटिसियन एसोशिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफै गर्नुभएको हो ।
स्वास्थ्य जाँच गर्दै उहाँले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्धाहरुलाई सल्लाह सुझाव दिनुभयो । वृद्धामा बढी दम रोगको सिकायत रहेको राज्यमन्त्री यादवको भनाई छ । उहाँले आश्रमका वृद्धाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । वृद्धाअश्रममा अहिले १६ जना वृद्धाहरु छन् । जानकी वृद्धा आश्रममा सन्तान नभएको तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन ।