काठमाडौं, २२ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोल देखाई लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
परिसरले आज पत्रकार सम्मेलन गरी ८ जना लुटेरालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको गोंगबुमा हाई रेष्टुरेण्ट एण्ड डान्स बार सञ्चालन गर्दै आएका कुशल अधिकारी, रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, योर्साङ घले, बिजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् ।
विशेष सुराकीको आधारमा पक्राउ परेका उनीहरुबाट चाइनिज पेस्तोल २ थान, म्याग्जिन, गोली २ थान, नक्कली सुन १ किलो, लुटपाटमा प्रयोग गरिने विभिन्न हातहतियार, मोबाइल र केही रकम बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक अशोक सिंहले जानकारी दिए ।
यो गिरोहले बौद्धमा रहेको एक घरमा लुटपाट गर्ने योजनासमेत बनाएको र सुन ब्यापारी योगेश विकलाई नक्कली सुन देखाई लुटपाट गरेको खुलासा भएको पनि प्रहरीले बताएको छ ।