रौटहट, २३ भदौ। गुजरा नगरपालिका ६ स्थित जुगौलीया टोलको मुसहर बस्तीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । ज्वरोका कारण बस्तीका धेरैजना थलिएका छन् । टोलकी कानी मुसहर्नी (माझी) को ७ वर्षीया छोरी निमासहित परिवारका ६ जना सातायता ज्वरोले ग्रस्त छन् ।
पैसा नभएर जचाउन नपाएको कानीले दुखेसो पोखिन् । ‘बिहान खाए बेलुका के खाउ भन्ने चिन्ता हुन्छ,’ उनले भनिन्, ‘उपचार गराउन कहाँबाट पैसा ल्याउनु ।’ उनका श्रीमान रामईश्वर मुसहर अर्काकोमा ज्यालामजदुरी गर्छन् । दिनभरि कमाएको पैसाले चामल किनेर ल्याउँछन् । अन्य खर्च यसै गरी धान्दै आएका छन् ।
कानी मात्र होइन बस्तीका अधिकांश मुसहर समुदायको पीडा उस्तै छ । चरम गरिबका कारण बस्तीका बालबालिकाले भनेको बेला उपचार पाउन सकेका छैनन् । स्थलगत रिपोर्टिङका क्रममा बस्ती पुग्दा केही बालबालिका सडकमै सुतिरहेका थिए । साथमा अभिभावकहरू कुरेर बसेका देखिन्थे ।
बस्तीमा झन्डै ३ सय बालबालिका छन् । धेरै बिरामी परेका छन् । साना दुधे बालबालिकालाई समेत ज्वरोले सताएको छ । दलित बस्ती भएकाले अभिभावकहरू उपचार गराउन नसक्ने भनेर त्यतिकै बसेका छन् । बस्तीका प्रकाश माझी मुसहरले आर्थिक विपन्नताकै कारण धेरैले आफ्ना छोराछोरीको समयमा उपचारमा गराउन नसकेको सुनाए ।
‘चरम गरिबले मुसहर समुदायले समयमा बिरामीको उपचार गराउन सकेका छैनन्,’ उनले भने, ‘ज्यालामजदुरी गर्नेहरू धेरै पीडामा छन् ।’ पछिल्लो समय देशभरि भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अस्पतालहरू बिरामीले भरिएको छ । चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा बिरामीको चाप छ ।
अस्पतालमा जँचाउन आउने अधिकांश भाइरल ज्वरोले थलिएकाहरू पाइएका छन् । यहाँस्थित निजी अस्पतालमा पनि बिरामीको भिड उस्तै छ । स्थानीय अस्पतालका चिकित्सक सुभाष चौधरीले भाइरल ज्वरोको प्रभाव जिल्ला भरी नै रहेको बताए । ‘अहिले धेरै जसोमा ज्वरोको प्रकोप छ । यस्तो बेला सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘यस्तो बेला जथाभावि फोहोर खानेकुरा खानु हुँदैन । पानी उमालेर पिउनु पर्छ । सुत्दा झुलको प्रयोग गर्नुपर्छ ।’ अस्पताल आएका केही बिरामीमा चिकित्सकले डेंगुको आशंका गरेको छ ।
बिरामीमा त्रास देखिएको छ । चन्द्रनगाहपुरस्थित सरकारी अस्पतालमा उपचारका लागि आएकी मोथीयाहीकी सुखियादेवी चार दिन देखी ज्वरो कम नभए पछि निकै आत्तिएकी थिइन् । चारैतिर डेंगुको प्रभावबारे थाहा पाएकी उनी त्यही रोगको सिकार भइयो की भनेर डराएकी देखिन्थे । सुखीया मात्र होइन अस्पताल आउने अधिकांश बिरामी आफूहरूलाई ज्वरो कम नभएपछि डेंगुको शंका गर्दै डा.अभिनन्दन श्रीवास्तवसमक्ष जिज्ञासा राख्ने गरेको भेटिएका थिए ।