जनकपुरधाम, २२ भदौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले काठमाडौं पुगेर एसिड आक्रमणमा परेकी मुस्कान खातुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
काठमाडौंको किर्तिपुर अस्पतालमा उपचाररत खातुन र चिकित्सकहरुलाई भेटेर मुख्यमन्त्री राउतले स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका हुन् । उनले खातुनको उपचारमा कुनै कमी हुन नदिने प्रतिक्रिया दिए । खातुनमाथि एसिड प्रहार भएको विहानपल्टै उपचारार्थ ५ लाख दिने घोषणा गरेका थिए ।
वीरगन्ज छपकैया घर भएकी खातुन विद्यालय पढ्न जाने क्रममा उनलाई दुई युवकले एसिड प्रहार गरेको थियो । खातुन कक्षा ९ मा अध्ययनरत छिन् । उनको अनुहार, छाती र हातमा एसिड प्रहार गरिएको छ ।