जनकपुरधाम, २७ भदौं । धनुषाका चर्चित गायक रुद्रसेन विश्वकर्मा ‘इन्डस्ट्रीयल पिस म्यूजिक अवार्ड–२०७६’ अवार्ड पाएका छन् ।
औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न उक्त अवार्ड कार्यक्रममा पुरुषतर्फको सर्वोत्कृष्ट कल्चरल गीत अवार्डबाट विश्वकर्मा पुरस्कृत भएका हुन । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले उनलाई अवार्ड हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा मैथिली भाषाको ‘कानोमे आँहाके झुमका’ बोलको गीतबाट गायक विश्वकर्मालाई सो अवार्ड प्रदान गरिएको छ । शब्द तथा संगीत गायक विश्वकर्माकै रहेको उक्त गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् ।
दिपक गिरीले छायांकन गरेको उक्त भिडियोको निर्देशन अहिलेका व्यस्त निर्देशक र कोरियोग्राफर प्रदिप कुमार रसाइलीले गरेका हुन् । भिडियोमा मोडलका रुपमा पनि रुद्रसेनलाई नै देख्न सकिन्छ भने उनलाई मोडल तथा नायिका रिचा थापाले साथ दिएकी छिन ।
अवार्ड पाएका विश्वकर्मा धनुषाको मिथिला नगरपालिका १० लालगढका स्थायी बासिन्दा छन् ।