अजय मिश्र / कपिलवस्तु, २९ भदौं । कृष्णनगर नगरपालिका एक कार्यक्रमकाबीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षता पुर्व कृषि राज्यमन्त्री सुरेन्द्रराज अचार्यको प्रमुख अतिथ्यमा कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गरिएको हो ।
कपिलवस्तु जिल्लालाई नै यही भदौं ३१ गते पुर्ण खुला दिशा मुक्त घोषणा गर्ने लक्ष्य रहेकोले जिल्लाका सम्पुर्ण स्थानिय तह धमाधम खुला दिशा मुक्त घोषणा हुन शुरु भएका छन । हालसम्म कृष्णनगर सहित कुल ९ वटा स्थानीय तह खुला दिशा मुक्त भईसकेको र भदौं ३० गते कपिलवस्तु नगरपालिकालाई घोषणा गर्ने कार्यक्रम पछि जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितिका सभापति नारायण खनालले जानकारी दिए ।
वडा नम्बर १,४ र १२ लाई समेटेर नगरपालिकालाई खुला दिशा मुक्त गरिएतापनि पुर्ण सरसफाई युक्त बनाउन आफु र सम्पुर्ण नगरपालिका परिवार लागि परेको नगर प्रमुख रजत प्रताप शाहले प्रष्ट पारेका थिए । अब गाउंघरमा छिटपुट छुटेका चर्पी बनाउन र त्यसको प्रयोगमा पनि विशेष ध्यान दिनु आवश्यक रहेको युनिसेफ, सुअहरालगायतका सहयोगी संस्थाहरुका प्रतिनिधिहरुले जनाए ।
कार्यक्रममा पुर्व राज्यसभा सदस्य डा. रुद्र प्रताप शाह, नगर उपप्रमुख सबनम खातुन, नगरपालिकाभित्रका शाखा प्रमुख लगायत कर्मचारीहरु, समाजसेवी शैलेष प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता, नेकपाका नेता सुशील श्रीवास्तव, जावेद खां, व्यवसायी नन्दकिशोर शर्मा, जितेन्द्र गोयल, अशोक अग्रहरीलगायत विभिन्न विद्यालयका प्रतिनिधि सुरक्षा निकाय तथा अन्य संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो भने संचालन संचारकर्मी सनिउल्लाह धोबीले गरेका थिए ।