जनकपुरधाम, २ भदौं । देशैभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एकजना नगरबासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर शुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको हो ।
राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन् । सोही पार्टीको रेणु झा उपप्रमुखमा जितेकी छिन् । उमेरको हिसाबले आमा–छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो । मेयर मण्डलले उपमेयर झालाई सम्बोधन पनि ‘आन्टी’ नै भन्थे ।
अहिले के भएको छ ?
झडपमा घाइेत भएका तपेश्वर मण्डलको मृत्युभएपछि उनको शवसहित झा पक्षले जिल्ला सदरमुकाम जनकपुरमा जनप्रदर्शन गर्यो । सोही दिन जिल्ला प्रहरी कार्यालयको गेटमै शव राखेर मेयर मण्डलसमेत तीन जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराइयो ।
उक्त मुद्दाको आधारमा आफू पक्राउ परिहाले तत्काल पदबाट निलम्बनमा पर्ने शंका लागेर मण्डल सम्पर्कविहीन भएका छन् । नगरप्रमुख मण्डल, उपप्रमुख झा, हंसपुरको वडा नम्बर २ का अध्यक्ष उदयकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह वडा नम्बर ४ का अध्यक्ष किशोरी यादव र कार्यपालिका सदस्य श्याम राउतविरुद्द जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता छ ।
उनीहरु सबै अर्धभूमिगत भएर एक अर्काविरुद्ध प्रस्तुत भइरहेका छन् । गिरफ्तारीमा पर्ने डरले कार्यालय जाँदैनन् । नागरिक दैनिकले खबर छापेको छ ।