माओवादी जनमुक्ति सेनाका अधिकारी बने ‘नेपाली सेना’का सहायक रथी


काठमाडौं, २ असोज । तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी प्रतीक्षा सहायक रथी (ब्रिगेडियर जनरल)मा बढुवा भएका छन् ।

उनलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन दिएका थिए ।

राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को तनावबीच सरकारले उनलाई सहायक रथीमा बढुवा गरेको हो । ‘महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ’, बाँस्कोटाले भने ।

अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय लिएको हो ।

दुई जनाको महासेनानीमा बढुवा

सरकारले नेपाली सेनाको दुई सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली सेनाका सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको जानकारी दिए । – नयाँ पेज

प्रकाशित : २०७६ आश्विन २, बिहीबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ