जलेश्वर, ५ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ४ बस्ने जीतेन्द्र प्रसाद यादबकी पत्नी भदौ १४ गतेदेखि बेपत्ता छिन् ।
आमा बेपत्ता भएपछि डेढ वर्षिया छोरी विचल्लीमा परेकी हुन् । पिता पत्नी खोज्न दिनभरि नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको चक्कर लगाउने गरेकाले बालिकाको समुचित आहार समेत पाउने गरेकी छैनन् ।
‘श्रीमती बेपत्ता भएको लिखित उजुरी जिल्ला प्रहरी कार्यालय दिएको छु’पीडित यादवले भने, ‘तर प्रहरीले खोजीमा चासो देखाएको छैन् ।’ सो ही वडा बस्ने सुरेश बैठाले महिलालाई बेपत्ता बनाएको यादवको आरोप छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडिसकेको छ ।
बैठा र महिलाबीच १४गते सम्म लगातार धेरै पटक सम्पर्क भएको मोबाइल कल डिटेलबाट देखिन्छ ।बैठा गाउँमै रहेका छन् ।तर महिलाको पत्तो छैन् । बैठामाथि शरिर बन्धक सम्बन्धी मुद्दा प्रहरीले लिन मानेको छैन् । घटनालाई गंभीरतापूर्वक प्रहरीले नलिएको यादवको आरोपछ ।
‘महिलालाई फकाएर लगी बेचेको अथवा हत्या नै गरेको हुन सक्छ’पीडित यादवले भने, ‘बेचिएको र हत्या गरिएको नभए एक पटक महिलालाई प्रहरीमा उपस्थित त गराइनु पर्छ ।’ प्रहरीले कुनै सुनवाई नगर्दा डेढ वर्षिया छोरीलाई समेत स्याहार्न कठिन भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक(डीएसपी) माधव बुढाथोकीले महिला हराएको निवेदन आएको बताउँदै अनुसन्धान भइरहेको जनाए ।