जनकपुरधाम, ५ असोज । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा संविधान दिवसको खुशियालीमा पनि कार्यक्रम भयो र बिरोधमा पनि । प्रदेश २ सरकारका मुख्यमन्त्रीसहित समाजवादी पार्टीका मन्त्रीहरु मौन भएपनि राजपाका मन्त्रीहरु संविधानको बिरोध कार्यक्रममा सहभागी भए ।
संविधान दिवसको खुशियालीमा भएका सरसफाई, प्रभातफेरी कार्यक्रममा कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उल्लेख्य सहभागिता रह्यो । संविधान दिवसको बिरोधमा गरिएको कार्यक्रममा राजपाका नेतादेखि मन्त्रीसम्मकाले सहभागिता जनाए । तर, आश्चर्यको कुरा जनताको सहभागिता कुनै पनि कार्यक्रममा देखिएन् । जनता न त खुशियालीमा देखिए, न त बिरोधमै ।
राजपाले मनाएको कालो दिवसमा पार्टीका नेता, कार्यकर्ता, मन्त्रीको मात्रै सहभागिता देखियो । जनकपुरधामको जनक चोकबाट बिरोध ¥याली निकाल्दै त्यहीं ठाउँ पुगेर बिरोधसभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेता÷कार्यकर्ताको उपस्थिति देखिएपनि सर्वसाधारण देखिएनन् ।
बिरोध कार्यक्रम भइरहँदा केहि संख्याका सर्वसाधारण छेउमा उभिएर भाषण सुन्नेबाहेक अन्यलाई मतलव नभएको देखिएको थियो । संविधान दिवसका दिन शुक्रबार प्रभातफेरीको आयोजना गरियो । यो प्रभातफेरीमा बढी संख्या प्रहरीकै देखियो । नेपाली सेनाका साथै नेपाल र सशस्त्र प्रहरीको संख्या बढी देखिएको थियो । केहि कर्मचारीले पनि सहभागिता जनाएका थिए ।
बिहीबार जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई गर्दा होस् या अन्तिम दिन शनिबार मधेश भवनमा सरसफाई र बृक्षारोपण गर्ने कार्यक्रममा पनि सर्वसाधारणको उपस्थिति देखिएन् । यसले जनता पनि आन्दोलन गर्ने र खुशियाली मनाउने मुडमा नदेखिएको पुष्टि भएको छ ।