जनकपुरधाम, ६ असोज । सूचना प्रविधिको प्रयोगले हरेक क्षेत्रको सेवा प्रवाहमा आमूूल परिवर्तन भइरहेको धारणा व्यक्त गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन सम्बन्धी प्रदेश नं २ स्तरीय अभिमुखी कार्यक्रमका सहभागीले सूचना प्रविधिलाई आर्थिक संवाहकका रूपमा अङ्गिकार गरिएकाले यसको क्षेत्रलाई सहज ढङ्गले प्रयोग हुनसक्ने बनाउनु जरूरी भएको बताउनुभयो । सूचना प्रविधिको प्रयोगबाट दिन प्रतिदिन आपराधिक क्रियाकलाप बढ्दै गएकामा चिन्ता व्यक्त गर्दे उहाँहरुले सूचना सुरक्षा सम्बन्धी स्पष्ट कानूनी व्यवस्थाको अभावका कारण जटिलता थपिँदै गएको बताउनुभयो ।
डोमेन नेटवर्क दर्ता तथा प्रयोग सम्बन्धी स्पष्ट कानूनी व्यवस्था नभएको र सूचना प्रविधिसम्बन्धी स्पष्ट कसुर र सजायको व्यवस्थाको कमीले जनस्तरमा विश्वासको वातावरण निर्माणमा समस्या देखिएको चर्चा गरिएको थियो । प्रदेश २ को नीति आयोगका सदस्य डा सुरेन्द्र झाले सूचना प्रविधिको प्रयोगले उत्पादन, कार्यगत क्षमता र प्रविधिमा परिवर्तन आएको प्रसङ्ग उल्लेख गर्दै भ्रष्टाचार र स्वेच्छाचारितालाई न्यूनीकरण गर्ने सन्दर्भमा सूचना प्रविधिमा अग्रसरता लिनु जरूरी छ भन्नुभयो ।
प्रदेशका निमित मुख्य सचिव शङ्करप्रसाद सुवेदीले सूचना प्रवाहको गुणस्तरीयतामा ध्यान दिनु आवश्यक भएको बताउनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सूचना प्रविधि जीवनसँग जोडिएकाले सेवालाई भरपर्दो बनाउनुपर्छ भन्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले सूचनामा सम्पन्नता बढ्दै गएको प्रसङ्ग उल्लेख गर्दै तथ्याङ्क केन्द्र तथा क्लाउड सेवाको विस्तार भइरहेको जानकारी दिनुभयो । मन्त्रालयका उपसचिव राजन पौडेलले नेपाललाई आधुनिकीकरण विकास सन्दर्भमा सूचना प्रविधिको विस्तार र विश्वसनीयताको वृद्धितर्फ ध्यान दिनु जरूरी भएको धारणा राख्नुभयो ।