उषा सरदार/ बिराटनगर, ७ असोज । बिराटनगर महानगरपालिका १८ बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड निर्माणमा लापरबाही भएको छ ।
मंगलवार सिमान्चल मैत्री संवाद समुहले यार्ड निर्माण गुणस्तरहिन भएको भन्दै पुनः निर्माणका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएको हो । यार्ड निर्माण गरेका कम्पनीलाई पुनः निर्माण्का लागि निर्देशन दिनुपर्ने मागसहित समूहले ज्ञापन–पत्र बुझाएको छ ।
बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनल लिएको थियो । उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै निम्न स्तरको सामग्री प्रयोग गरेर बनाएको कस्टम यार्ड वर्षदिन नबित्दै भत्किएको छ ।
निर्माणमा भएको लापरबाही विषयको सामाचार समेत विभिन्न पत्रपत्रिकामा आएपनि स्थानीय सरकारले चासो नदेखाएपछि सिडिओलाई ज्ञापनपत्र बुझाएको समुहको संयोजक राजेश कुमार शर्माले जानकारी दिए । उनले सार्वजनिक हित तथा महत्त्वको बिषयवस्तु भएको हुनाले भविष्यमा त्यसको संरचनाबाट कुनै किसिमको भौतिक तथा मानवीय क्षति हुन नदिन स्थलगत निरिक्षण गरि उक्त निर्माण कम्पनीलाई पुनः निर्माण गर्न निर्देशन जारि गर्नुपर्ने बताए ।
शर्माले कस्टम यार्ड निर्माणमा लाखौंको हिनामिना भएको हुनसक्ने आशंका समेत व्यक्त गर्नु भएको छ । उक्त ज्ञापन पत्र दीदा मैत्री संवाद समूह का गंगा प्रसाद यादव, आशा सरदार, चुरा ठकुरी, निमेश पोखरेल, संजय मगरसहितको उपस्थिति थियो ।