मुकेश यादव/ लहान, १० असोज । प्रदेश का आन्तरिक मामिला तथा कानून राज्यमंत्री सरोज कुमार सिंहले छोरी शिक्षित भए मात्र सामाजिक विकास संभव रहेको बताएका छन । छोराछोरीलाई समान शिक्षा दिनसके मात्र समृद्ध समाज निमार्ण हुने उनले उल्लेख गरे ।
प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकाको जनता माध्यमिक विद्यालय अयोध्यानगर, कसहामा बिहीबार आयोजित साईकल वितरण कार्यक्रममा यस्तो बताए ।
राज्यमंत्री सिंहले छोरा र छोरी बीच समानता ल्याउनको लागि प्रदेश सरकारले बिभिन्न दीर्घकालिन योजनाहरु ल्याएको बताए । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पूर्व नागरिक उड्यन तथा पर्यटन राज्यमंत्री शत्रुधन प्रसाद सिंहले साईकल वितरण कार्यक्रमले छात्राहरुमा उत्साह बढने र नियमित विद्यालय जाने वातावरण सृजना हुने बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका धनगढीमाई नगरपालिका वडा नं ७ का वडाध्यक्ष गनपति यादवले गुणस्तरिय शिक्षा प्रदान गर्न सम्पूर्ण अविभावकहरुको सल्लाह सुझावको खाँचो रहेको र यसमा सरोकारवालाहरुले अह्म भूमिका खेल्नु पर्ने बताए ।
सोही कार्यक्रममा समाजवादी पार्टी जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष अशोक कुमार यादव, समाजवादी पार्टी धनगढीमाई नगर अध्यक्ष रामप्रसाद महतो लगायतको उपस्थिती रहेको थियो ।
जनता मावि अयोध्यानगर कसहाका प्रधानाध्यापक सुरेश साहले कार्यक्रममा स्वागत मनतव्य राखेका थिए । सो अबसरमा कक्षा ८ मा अध्ययनरत् ७३ जना छात्रालाई साईकल वितरण गरिएको छ ।