एजेन्सी, ११ असोज । भारतीय प्रधान्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् ।
शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ । पूरा विश्वलाई शान्तिको सन्देश दिएको छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केवल १७ मिनेट मात्रै भाषण गरे पनि कैयौँ मुद्दा उठाएका छन् । उनले पाकिस्तानको नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् ।
आतंकवाद पूरा विश्वका लागि खतरा भएको भन्दै उनले भने, ‘हाम्रो आवाजमा आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउने गम्भीरता पनि छ र आक्रोश पनि ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर, पूरा विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो बलिदानी दिएको पनि पनि मोदीले बताएका थिए ।