वीरगन्ज, ११ असोज । डेंगु रोग नियन्त्रणको प्रयासबीच वीरगन्ज महानगरमा डेंगु रोगीको संख्या दैनिक बढ्दो छ । वीरगन्जमा हालसम्म १ सय २५ डेंगु रोगी सम्पर्कमा आएको वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
वास्तविक रोगी योभन्दा बढी हुन सक्ने महाशाखा प्रमुख अरुणकुमार महतोले बताए । ‘हालसम्म १ सय २५ डेंगु रोगी सम्पर्कमा आएको तथ्यांक छ,’ उनले भने, ‘तीमध्ये ४३ नयाँ रोगी हुन्, कुन अस्पतालमा के कति बिरामी सम्पर्कमा आए र भर्ना छन् तथा तीमध्ये वीरगन्ज महानगरकै मात्र के कति बिरामी हुन् भनी अझै यकिन गर्न बाँकी छ ।’ यहाँका अस्पतालमा उपचारार्थ भर्ना भएका सबै डेंगु बिरामी वीरगन्ज महानगरकै मात्र नरहेको उनले बताए । तीमध्ये आधा जसो छिमेकी बारा, रौतहट, मकवानपुर जिल्लाका तथा केही भारतका पनि रहेका छन् ।
यहाँस्थित नारायणी, नेसनल मेडिकल, गण्डक, भवानी, वीरगन्ज हेल्थ केयर, एडभान्स लगायतका लगायतका वीरगन्जका विभिन्न अस्पतालमा डेंगु रोगका बिरामी उपचारार्थ भर्ना छन् । डेंगु नियन्त्रणका लागि महानगरपालिकाको कार्यालयले औषधि छर्ने, सर्च एन्ड डिस्ट्रोय अभियान चलाउनुका साथै विद्यार्थी तथा शिक्षक परिचालन गरेर विभिन्न चेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
देशका अन्य जिल्लामा डेंगु रोग नयाँ भए पनि वीरगन्ज महानगरमा यो रोग करिब १ दशकदेखि देखा परिरहेको छ । एडिस जातका लामखुट्टेले सार्ने यो रोग लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, चिलाउने, घाँटी खसखस गर्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छन् । सफा पानीमा बस्ने कालो रङमा सेता थोप्ला भएका लामखुट्टेका माध्यमबाट सर्ने यो रोग सर्छ । डेंगु रोग एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइले हुने गर्दछ ।