जनकपुरधाम, १२ असोज । धनुषाको सिमावर्ती क्षेत्रबाट अवैध ७ किलो चाँदीसहित आज विहान फेरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगराइन नगरपालिकाको जटही नाका भएर भारत प्रवेश गर्न लागेको बेला भारत बिहार राज्यको मधुवनी जिल्लाका धिरज ठाकुर र जनकपुरधाम ७ स्थित ठाकुर ज्वेलर्सका संचालक सुरेश ठाकुर पक्राउ परेका हुन् । उनीहरु बा. ११ च. १२५० नम्बरको टाटा सुमो गाडी भारततर्फ जाने क्रममा चेकजाँच गर्दा ७ किलो चाँदी बरामद भएपछि नियन्त्रण्मा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको छ । नेपालभन्दा भारतीय बजारमा चाँदी महँगो भएकोले तस्करी हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
दुई दिनअगाडी पनि सशस्त्र प्रहरीले जनकपुरबाटै साढे १८ किलो चाँदीसहित महोत्तरीको पिपरा गाउँपालिका ५ का भरत साहलाई पक्राउ गरेको थियो ।