जनकपुरधाम, १४ असोज । मुख्यमन्त्री लालबाबु राउतले पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताउनु भएको छ ।
गण्डकी प्रदेशले शुरु गरेको आन्तरिक पर्यटन वर्षको प्रचार प्रसारको क्रममा जनकपुर आई पुगेको टोलीलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले पर्यटन सम्पूर्ण आधार हामी कहाँ रहेपनि प्रचार प्रसारको आभावमा पर्यटन लाई ल्याउन नसकेको यथार्थलाई मनन गर्दै प्रदेश सरकारले पर्यटकीय विकासलाई प्राथमिकमा राखेर अघि बढेको बताउनु भयो ।
मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक ऐतिहासिक महत्व तथा पोखराको प्राकृतिक सौन्दर्यतालाई जोडन सक्यौ भन्ने लाखौ पर्यटकलाई तान्न सकिने बताउनु भयो । उहाँले यसका लागि जनकपुर पोखरा हवाई यात्रा तत्काल शुरु गर्नु पर्ने बताउनुभयो ।
विगतमा प्रचार प्रसार नभएकै कारण पर्यटनमा फडको मार्न नसकेको भएपनि अवको जिम्मेवारी प्रदेश सरकारको रहेको हुनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाउनुभयो । बाह्य पर्यटकले मात्र पर्यटकीय विकास सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले आन्तरिक पर्यटनको प्रचार प्रसार समेत हुनु पर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
गंगा सागरको डिलमा आयोजना गरिएको गण्डकी पर्यटन प्रवर्धन कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पर्यटन व्यवसायी विजय झुनझुनवाला सहितको उपस्थिति रहेको थियो ।