काठमाडौं, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारी रोशनी शाहीको निवासमा एक घण्टा १९ मिनेट बिताएको खुलेको छ ।
कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको हो । उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।
कान्तिपुर दैनिकलाई प्राप्त जानकारीअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि ८ : २५ मा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए ।
प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ । प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन् ।
प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन् । अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’ भइन् ।
शाहीले सोमबार आफैंले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरीत खालको अन्तर्वार्ता मंगलबार दिइन् । उनले मंगलबारको अन्तर्वार्तामा महरा आफ्नो घरमै नआएको दाबी गरिन् । मंगलबार दिनभरजसो मोबाइल फोन अफ गरेर सम्पर्क बाहिर रहेकी शाहीले अन्तर्वार्ता दिएपछि मात्रै आफ्नो मोबाइल अन गरेकी थिइन् ।
उनले बयान फेरेको विषयमा मंगलबार राति कान्तिपुरले उनीसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले यो विषय बन्द भइसकेको उल्लेख गर्दै भनिन्, ‘यस्ता झिनामसिना कुरातिर नजाम् के। आ–आफ्नो काम गर्नुस् ।’