संजय साह/ जनकपुरधाम, १८ असोज । समाजसेवी एवम नेकपाका बयोवृद्व नेता गंगाराम यादवले तराई मधेश शिक्षास्तर खस्किदै गएकोमा चिन्ता व्यत गरेका छन् ।
विजया दशमी दिपावली र छठ पर्वको अवसरमा धनुषाको परवाहा देउरीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई टिशर्ट, शैक्षिक सामग्री र विस्कुट वितरण गर्दै समाजसेवी यादवले शिक्षाको हव मानिएको धनुषा सहितका तराई मधेशका जिल्लाहरुमा शैक्षिक स्तरमा भएको ह्रास चिन्ताको विषय बन्नु पर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।
नेपाल सरकारले शिक्षाको स्तर बढाउन अधिक अग्रसर हुनुपर्ने बताउदै यादवले शिक्षाले मात्र देशको गरिवी अन्तय हुन सक्ने बताए । शिक्षाको विकास भए मात्र देशको गरिवी कम हुने उनको दावी छ । स्वयम यस समस्या प्रति चिन्तित रहेकाले नै विद्यार्थीहरुको हौसला बढाउन र विद्यालय प्रति आकर्षण बढाउन समय समयमा यस्ता कार्यक्रमहरु गरिरहेको समेत उनको भनाई छ ।
शनिबार दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका बीच परवाहा देउरीका वडा अध्यक्ष अमितकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई समाजसेवी यादवले सो सामग्री वितरण गर्नुभएको हो । कार्यक्रममा ६ सय छात्रा तथा ४ सय ५० छात्र गरी १०५० जनालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेताहरु कारी यादव, जितेन्द्र यादव लगायत शिक्षकहरूको उपस्थिति थियो ।