जनकपुरधाम, १९ असोज । बडादसैंअन्तर्गत् आज महाअष्टमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौं श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउनेक्रम सुरू भएको हो ।
पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहकाअनुसार मध्याह्न १२ बजेसम्म प्रसाद चढाउने र महिलाले खोंइछ भर्नेछन् । प्रसाद र खोंइछ भर्नेक्रम सम्पन्न भएपछि मन्दिर सफा गरी साँझ हुने बोकाबलिको तयारी गरिने बताइएको छ ।
त्यस्तै, यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमास्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिलाहरू लाममा लागेका छन् । विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको सबैभन्दा लामो लाम देखिएको छ ।
सो मन्दिरमा रातिदेखि नै खोंइछ भर्ने श्रद्धालु महिलाको भीड रहेको जनाइएको छ । रासस