काठमाडौं, २० असोज । यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरी हिरासत राखिएका निवर्तमान सभामुख कृष्णबहादुर महराको श्वास–प्रश्वासमा समस्या देखिएको छ । महरामा उच्च रक्तचापसँगै श्वास–प्रश्वासको समस्या देखिएपछि हिरासत कक्षमै अक्सिजन दिइएको हो ।
महरामाथि असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित शाहीले जबरजस्ती करणी उद्योगमा महराविरुद्ध शुक्रबार किटानी जाहेरी दिएकी थिइन् ।
उक्त जाहेरीका आधारमा आइतबार प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई चिकित्सकको टोलीले स्वास्थ्य चेकजाँज गरेको थियो ।
महराले आवश्यक परेको समयमा अक्सिजन लिने र सामान्य अवस्थामा अक्सिजन मास्क खोल्ने गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
महरा असोज १२ गते राति तीनकुनेस्थित पीडित रोशनीको कोठामा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।