सिन्धुपाल्चोक, २४ असोज। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस शुक्रबार बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा आठ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ५० भन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए। क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
‘दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ’, उनले भने, यो प्रारम्भिक जानकारी हो, थप विवरण आउन बाँकी नै छ।’ उनले मृतक कसैको पनि सनाखत हुन नसकेको बताए। ‘अहिले उद्धार कार्य जारी छ, घाइतेहरुलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारमा पठाइरहेछौँ’, डीएसपी काफ्लेले भने।
स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्नेछ।उनले दुर्घटनासथलमा स्काभेटर ल्याएर उद्धार गर्न लागिएको जानकारी दिए।