काठमाडौं, २४ असोज । साउदी फण्ड फर डेभलप्मेण्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण दिएको छ ।
डेभलप्मेण्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण दिएको हो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ऋण सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गरेका हुन् । अर्थसचिव डा. खनालले साउदी सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले ऋणले भूकम्पपीडितको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त समेत गरे ।
फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्योहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरूको दायित्व हुने उल्लेख गरेका छन् । उनले नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकोमा खुशी व्यक्त गरे ।