काठमाडौं, २५ असोज । चीनका राष्ट्रपति सी चिनफिङ आज दिउँसो नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आउँदै छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो ।
दुई दशकपछि चिनियाँ उच्च तहबाट हुन लागेको भ्रमणलाई नेपालले विशेष महत्व दिएको छ ।यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए । शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । शनिबार साँझ नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्ने छन् । आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुई पक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।