रौतहट, २६ असोज । प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
सांसद आलमलाई गौर नजिक इद्रिस गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताउनुभयो । विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेको थियो । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।