सिरहा, २७ असोज । सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–३ स्थित कमलाको बगरमा सोमबार बिहान सकेट बम भेटिएको छ।
सिरहा र धनुषाको सीमामा पर्ने कमलाको पुलदेखि करिब एक किलोमिटर दक्षिण सिरहातर्फ बगरको बालुवाले पुरिएको अवस्थामा सकेट बम भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मिर्चैया प्रहरी प्रमुख डिएसपी सुकदेव खनालका अनुसार नदी किनारमा गिट्टी बालुवा चाल्ने मजदुरले बगरमा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बिहान ८ बजेतिर खबर पाए लगत्तै प्रहरीको एक टोली घटनास्थल पुगेर फर्किएको र चोहर्वास्थित नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको ठाउँमा पुगेको डिएसपी खनालले बताए ।
खिया लागिसकेको सकेट बम कसैले खनेर लुकाएको नभई बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको आशङ्का छ ।