काठमाडौं, २७ असोज। पछिल्ला केही वर्षहरुमा डा. गोविन्द केसी आफ्नो पेशा भन्दा फरक कारणले चर्चामा रहनु भएको थियो । उहाँले आजबाट सरकारी सेवाबाट अबकाश प्राप्त गर्न लाग्नु भएको छ । वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. केसीले उमेरहदका कारण अनिवार्य अवकाश पाउन लाग्नु भएको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसीले १६ पटक अनसन बस्नु भएको छ ।
उहाँले मेडिकल कलेजले लिने शुल्क, देशका दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज स्थापना, मापदण्ड पुरा गरी मेडिकल कलेज स्थापना लगायतका विषयमा अनसन बस्नु भएको थियो । आन्दोलनका क्रममा पटक पटक सरकारसंग माग बारे सहमति भएपनि थोरै मात्रै पुरा भएका छन् । पछिल्लो पटक पनि आफ्ना माग सरकारले पुरा नगरेको भन्दै आन्दोलनको चेतावनी दिनुभएको थियो ।
आजबाट अबकाश प्राप्त गर्न लागेका केसीले पत्रकार सम्मेलन गरी आफ्नो कार्यकाल र यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिने स्रोतले जानकारी दिएको छ । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा हुने पत्रकार सम्मेलनमा चिकित्सा क्षेत्रको सुधारका लागि आफुले चालेका कदम र भावी योजना समेत सार्वजनिक गर्ने बताइएको छ । अनसन बस्दै गर्दा उहाँ पटकपटक पक्राउ पनि पर्नुभएको छ ।