लहान, २९ असोज । यातायात व्यवस्था कार्यालय सगरमाथा सिरहाका प्रमुख मिन बहादुर भट्टराई कार्यालयमा अगावै हाजिर गरी टाप हुने गरेका छन् ।
प्रमुख भट्टराई संघिय कार्यालयमा समायोजन भएपनि उनी प्रदेश मातहतको यातायात व्यवस्था कार्यालयमा चार महिनादेखि जबरजस्ती बसिरहेका छन् । प्रदेश १ मा समायोजन भएका भट्टराईले मालपोत अथवा यातायात कार्यालय नदिए सम्म नजाने अडानमा रहेको बताइन्छ ।
भट्टराईले असोज २९ गतेको हाजिर असोज १७ गते नै गरिसकेका छन् । २८ गते कार्यालयमा हाजिर भएका भट्टराईको हाजिर रजिष्टरमा उनले १७ गते नै हाजिर गरेको प्रष्ट देखिन्छ । गत असार ३ गते संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भट्टराईलाई प्रदेश १ मा समायोजन गरिएको पत्र दिएको छ ।
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज ५ गते भट्टराईलाई समायोजन भएको कार्यालयमा हाजिर हुन पत्राचार गरेको छ ।तर उनी असोज १७ गते नै २९ गतेको मितिमा हाजिर गरी कार्यालय छाडेका थिए ।२८ गते कार्यालयमा हाजिर भएका भट्टराई प्रदेशको पत्रलाई अवज्ञा गरेका छन् ।
नियमानुसार समायोजन भएको कार्यालयमा २१ दिन भित्र हाजिर हुनुपर्छ ।तर भट्टराईले यातायात कार्यालय लहानलाई छाड्न तयार देखिदैन् ।सवारी लाइसेन्स, रुट परमिट, नविकरणमा व्यापक घुस लिने लगायत किर्ते लाइसेन्स बनाउने धन्धामा समेत भट्टराई सकृय रहेको बताइन्छ ।
घुस खान पल्केका भट्टराईले संघिय र प्रदेश सरकारको पत्रलाई वेवास्तागर्दै गैरकानुनी रुपमा अघिल्लो मितिमा पहिले नै हाजिरगर्दै आएपनि सम्बन्धित निकायहरु मौन छन् । – जनकपुर टुडे