सन्तोष यादब / जनकपुरधाम, १ कार्तिक । प्रदेश २ का मधेस आन्दोलनका घाईते र शहिद परिवारका सदस्यको ज्ञापन–पत्र बुझ्न मुख्यमन्त्री लालबाबु राउतले आनाकानी गरेको छ । पर्सा, बारा, रौतहट, सर्लाहीका मधेस आन्दोलनका घाईते र शहिद परिवारका सदस्यहरु विहिवार मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन जनकपुर आए । तर मुख्यमन्त्री राउत समय दिएनन् ।
प्रदेश सरकारले वेवास्ता गरेको भन्दै शहिद परिवार र घाइतेहरु मुख्यमन्त्री राउतसँग पटक पटक सम्पर्क गरेर ज्ञापनपत्र बुझाउन आउने समय माग्ने प्रयास गरे । तर मुख्यमन्त्री राउतले बेवास्ता गरिरहे । न एसएमएसको जवाफ फर्काए, न फोन रिसिभ गरेँ । पछि उनका पिए दिपकलाई फोन गर्दा ज्ञापनपत्र बुझ्ने समय नै नभएको भन्दै उल्टै हप्काएको उनीहरुले बताएका छन् ।
आन्दोलनका बेला सहिद परिवारलाई ५० लाख दिने भनेको तर अहिले सत्तामा पुग्दा वाचा विर्सेको आरोप घाईते तथा शहिद परिवारका केन्द्रिय अध्यक्ष विजय यादबले लगाए । उनले सरकारले शहिद परिवारलाई पियनमा जागिर र भैंसी दिएर जिस्काउने काम गरेको टिप्पणी गरेँ ।
उनले भने, ‘घाईतेहरु अझै उपचार नपाएर छटपटाइ रहेका छन् । तर आन्दोलनको बलमा बनेका प्रदेश सरकार समेत वास्ता नगरेपछि बाध्य भएर ज्ञापन पत्र बुझाउने प्रयास गरेँ । तर उनीहरु ज्ञापनपत्र समेत लिन नमान्दा दुःख लागेको छ ।’ उनले मुख्यमन्त्री राउतले यसरी शहिद परिवार र घाइतेलाई अपमान गरी अगाडी बढे पीडितहरु आत्मदाह गर्ने चेतावनी समेत दिए ।
यस्तै पर्साका दिनेश साहले मधेस आन्दोलनमा भाई राजेश्वर साहलाई गोली लाग्दा खुट्टा नै काटिनु परेपनि उपचार गराउन प्रदेश सरकार आनाकानी गरेको गुनासो पोखेका छन् । उनले भने, ‘खुट्टाको प्लाष्टिक सर्जरीमा प्रत्येक वर्ष ५० हजार खर्च हुन्छ । तर कहिकतैबाट सहयोग पाइरहेको छैन ।’
मधेस आन्दोलनमै गोली खाएर अपाङ भएका बाराका जितेन्द्र प्रसाद यादबको पिडा पनि दर्दनाक छ । उनले मधेस आन्दोलन अपमानित हुनकै लागि गरेको जस्तो भान हुन थालेको सुनाए । उनले गोली लागेको घाउँ देखाउँदै भने, ‘हेर्नुस् यस्तो अवस्था छ । हिड्न पनि गाहो हुन्छ । कसरी कहाँ काम गरेर खाने ?’
सहिद परिवार र घाईतेहरुले सम्मान जनक जागिरको माग गरेका छन् । हाकिमलाई पानी र चिया खुवाउने जागिर दिएर शहिद परिवारलाई प्रदेश सरकारले अपमान गरिरहेको भन्दै अब सम्मानजनक जागिर, छोरा–छोरीलाई शिक्षा र घाइतेहरुको उपचार खर्च सरकारले दिनुपर्ने उनीहरुको माग छ ।