काँग्रेसले जितेको स्थानीय तहमा ओलीको कर्मचारीले दुःख दिन थाल्यो : सभापति देउवा


काठमाडौं, १ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेका स्थानीय तहमा ओली सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको भन्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, गाउँपालिकाका सभापति/निर्बाचित अध्यक्ष/उपाध्यक्षका लागि भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले जनताको पक्षमा काम गर्न खोज्ने जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीको प्रतिरोध गर्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले त्यस्ता कर्मचारीको एक–एक गरेर हिसाब राख्ने पनि चेतावनी दिनुभयो ।

सभापति देउवाले कम्युनिष्टले जितेका स्थानीय तहमा तिनका कार्यकर्ताले लुट मच्चाएको आरोप समेत लगाउनुभयो । यस्तो बेलामा कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताका पक्षमा राम्रो काम गरेर उदाहरणीय बन्न उहाले निर्देशन दिनुभयो ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका अक्षमतालाई ढाकछोप गरेर प्रशस्ती गाउनु पर्ने प्रधानमन्त्रीको सोच नै अधिनायकवादी चरित्र भएको बताउनुभयो । प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले संघीयताको मर्म र भावना विपरित सरकारले तल्लो तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारले संविधानमाथि थिचोमिचो गरेर सर्बसत्ताबाद लाद्न खोजेको भन्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने मूल दायित्व कांग्रेसकै भएको उल्लेख गर्नुभयो ।

त्यस्तै पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको सरकारले कम्युनिष्ट शासन व्यबस्था भएका मुलुकलाई प्राथमिकतामा राखेर प्रजातान्त्रिक मुलुकप्रति भेदभाब गरेको आरोप लगाउनुभयो ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार १४:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ