एजेन्सी, २ कार्तिक । बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चार दिनयता मुम्बईको नानावती अस्पतालमा भर्ना भएका बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै उनलाई मंगलबार बिहान ३ बजे नै अस्पताल भर्ना गरिएको थियो । डिस्चार्ज भएपछि बच्चनलाई लिन पत्नी जया र छोरा अभिषेक अस्पताल पुगेका थिए ।
नियमित स्वास्थ्य परीक्षण भनिए पनि अमिताभलाई बिहान ३ बजे नै अस्पताल पु¥याइनुको रहस्य भने अझैं खुल्न सकेको छैन । अमिताभको स्वास्थ्य अवस्था ठीक रहेको बताइएपनि अस्पतालले उनका बारेमा कुनै सूचना समेत जारी गरेको छैन ।
यता, अमिताभले भने आफ्नो स्वास्थ्य अवस्थ ठीक रहेको र आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्ने सम्पूर्ण प्रशंसकलाई एक ‘ब्लग’मार्फत् धन्यवाद दिएका छन् । ब्लगमा उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफ्नो स्वास्थ्य अवस्थाबारे धेरै अफवाह फैलिएको भन्दै गुनोसो गरेका छन् ।
उनले अस्वस्थ्य हुन वा स्वास्थ्य अवस्थाको विषय गोप्य राखिनु व्यक्तिगत अधिकार भएको र कसैले यस्तो अवस्थालाई आफ्नो आर्थिक फाइदाको लागि प्रयोग गर्छ भने त्यो सामाजिक रूपमा अवैध रहेको तर्क गरेका छन् ।