जनकपुरमा सिताराम विवाह पञ्चमीको तयारी सुरु, अयोध्याबाट जन्ती आउने


जनकपुरधाम, ३ कार्तिक। जनकपुरमा विवाहपञ्चमीको तयारी सुरु भएको छ । जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सिताराम विवाह पञ्चमी महामहोत्सव मनाइदै आएको छ । तर यसवर्ष भने अन्य वर्षभन्दा विशेष हुनेछ ।

विवाहपञ्चमीको तयारी थाल्न शनिवार जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोषण दासले सरोकारबालाहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा दासले प्रत्येक ५ वर्षमा भारतको आयोध्याबाट आउने जन्ती (बाराती) यसवर्ष आउन लागेको जानकारी दिए । उनका अनुसार जन्ती बनेर करिब ५ देखि ७ सय भारत बाहेकका विदेश पर्यटक समेत आउन लागेका छन् ।

भगवान रामको जन्मभुमि अयोध्याबाट यसवर्ष जन्ती आउने भएकाले विवाहपञ्चमी महोत्सव विशेष बनाउन सबै निकायसँग छलफल गरेको जानकारी दिए । छलफलका क्रममा आवास, खाना, शौचालय, सजावट, जन्तीको स्वागत, शान्ति सुरक्षा कसरी गर्ने विषयमा छलफल भएको छ । महोत्सवलाई भव्य र सभ्य बनाउन विभिन्न समिति तथा उपसमितिहरु समेत गठन हुनेछ ।

यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको छ । तर ९ गतेदेखि नै विधिवत रुपमा विवाहपञ्चमी सुरु हुने र १६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउनेछ । १६ गते अन्तिमदिन रामकलेवा हुन्छ । त्यसअघि मंसिर ९ गते पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौदिन मटकोर र छैठो दिन रामसीता स्वयंवर गरिनेछ ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार ०२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ