काठमाडौं, ३ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा बयानपछि आइतवार अपरान्ह उपस्थित गराइएका महरालाई शनिबारदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो । बयान दिन इन्कार गरेको समाचार आएपछि महराले आइतवार जिल्ला सरकारी वकिलसँग यो प्रकरणमा पहिलो पटक बयान दिनुभएको थियो ।
अब महरालाई सरकारी वकिलले आगामी बुधबार अदालतमा उपस्थित गराउने छन् । गत असोज १९ गतेदेखि प्रहरीको हिरासतमा परेका महरा पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा हुनुहुन्छ ।
संसद सचिवालयकी एक महिला कर्मचारीले आफुमाथि कोठामै आएर महराले कुटपिट गर्दै बलात्कार गरेको जाहेर गत असोज १८ गते महानगरीय प्रहरी वृत्त तीनकुनेमा दिएकी थिइन्। उनको जाहेरीका आधारमा वृत्तका डिएसपी दुर्गा रेग्मीसहितको टोलीले त्यसको भोलिपल्ट महरालाई बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ गरेको थियो ।
महरालाई १० दिनसम्म हिरासतमा राखेर असोज २८ गते जिल्ला अदालतमा तीन दिन म्याद शुक्रबारसम्म थपिएको थियो ।