कपिलवस्तु, ४ कार्तिक । भारतीय प्रहरीले जिल्लाको मायादेवी गाउँपालिका २ का एक नेपालीलाई अपहरण गरी भारत लगेको छ । स्थानीय ४२ वर्षीय रमजान मुलसमान भारतीय प्रहरीले आइबार साँझ सोही गाउँपालिका १ को पकडीबाट अपहरण गरेको हो ।
भारतीय सीमा क्षेत्र चाकर चौडाबाट प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले पक्राउ गरी लवनी हुँदै सीमावर्ती हथिहवा दोहनी नाकाबाट भारततर्फ लगेको अन्नपूर्ण पोष्टमा समाचार छ । भारतीय प्रहरीको टोलीले रमजानलाई पक्राउ गरी लगेको खबर आफूहरूलाई पनि प्राप्त भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए । यस सम्बन्धमा थप बुझ्ने काम भइरहेको मल्लले जानकारी दिए ।
अपहरणमा परेका रमजान उपर भारतका विभिन्न स्थानहरूमा अपराधिक क्रियाकलाप गरेको आरोप छ । भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कारण उनलाई पक्राउ गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
घटनाबारे सीमा क्षेत्र चाकरचौडाका नेपाली सुरक्षाकर्मीहरूलाई भने खासै जानकारी छैन । साँझको समयमा पकडी क्षेत्रबाट रमजानलाई पक्राउ गरी भारतीय नम्बर प्लेटको गाडीमा राखी लगेको खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए ।
खबर प्राप्त हुना साथ सीमा क्षेत्रमा निगरानी बढाए पनि अपहरणमा परेको भनिएका रमजानको पत्ता लगाउन नसकिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।