४ कार्तिक । पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय सेनाले आक्रमण गर्दा नेपाली जस्तो नाम भएका पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको जनाइएको छ । उनीहरुको नाम नेपाली जस्तो भएपनि कुन देशका हुन् भन्ने खुलाइएको छैन ।
पीओकेमा भारतीय सेनाले आक्रमण गरे पश्चात पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । भारतीय मिडियाहरुले उल्लेख गरेअनुसार पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका पत्रकार सञ्जीभ चोपराका अनुसार उनीहरुको ठेगाना त खुलिसकेको छैन, तर गोर्खा रेजिमेन्टका हुनसक्ने अनुमान रहेको छ । आईतवार रातिको भिडन्तमा उनीहरु मारिएको बताइन्छ ।
भारत-पाकिस्तानबीच उक्त पछिल्लो लडाईमा ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । पछिल्लो समय फेरी पाकिस्तान र भारतीय सेनाबीच पटक पटक गोली हानाहान भइरहेको छ ।