काठमाडौं, ४ कार्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणबारे प्रतिवेदन सार्वजनिक गर्दै दोहोरो भिडन्तमा मृत्यु नभएको निश्कर्ष निकालेको छ ।
आयोगले पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ अनावश्यक प्रहरीको बल प्रयोगबाट भएको निष्कर्ष निकालेको हो । आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।
गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा भएको भनिएको दोहोरो भिडन्तमा पौडेल मारिएका थिए । प्रहरीले दोहोरो भिडन्त भने पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले नै घटनाका विषयमा प्रश्न उठाएका थिए ।
त्यस्तै घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद समेत अवरुद्ध गरेको थियो । खबरहब