जनकपुरधाम, ४ कार्तिक । जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साह अष्ट्रेलियामा सम्मानित हुनुभएको छ । सिड्नीमा एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टाले पूर्वमेयर साहलाई सर्टिफिकेट अफ अनरबाट सम्मान गरेको हो ।
दशैं, दीपावली र छठ पर्वको अवसर एन्टाले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँलाई सम्मान गरिएको छ । कार्यक्रममा पूर्वमेयर साहले भिजिट नेपाल २०२० लाई सफल पार्न अष्टे«लियामा बसिरहेका नेपालीहरूसँग आग्रह गर्नुभयो । उहाँले धार्मिक तथा पौराणिक नगरी जनकपुरधामको भ्रमण गर्न पनि आग्रह गर्नुभयो ।
पूर्वमेयर साहले त्रेतायुगमा भगवान राम र माता सीताको विवाहको स्मरणमा हुँदै आएको विवाहपञ्चमीको तयारी जनकपुरधाममा तीव्र गतिमा भइरहेको भन्दै यो महोत्सवमा सहभागी हुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वमेयर साहले एन्टा अष्टे«लियाका अध्यक्ष प्रवीण चौरसियालाई मिथिला पेन्टिङ हस्तान्तरण गर्नुभएको थियो ।
त्यसक्रममा उहाँले पर्यटकीय क्षेत्र जनकपुरधामको प्रचार प्रसारका लागि विभिन्न किसिमका सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा एन्टा अष्ट्रेलियाकी उपाध्यक्ष संगीता साहसहित पदाधिकारीको उपस्थिति थियो ।