‘मिथिलाको सभ्यतालाई हराउने काम नगरौं’


जनकपुरधाम, ५ कार्तिक। प्रदेश २ को नामांकरण गर्ने सन्दर्भमा प्रदेश सरकारले केहि महिनाअघि तदारुकता देखाएपनि अहिले मौन छन् । पछिल्लो डेढ् महिना यता प्रदेश सभाको बैठक समेत बस्न नक्दा नामांकरण सम्बन्धी प्रस्ताव थन्किएको छ । यस बीचमा यो कुराको बहस व्याप्क रुपमा भइरहेको छ ।

सत्तासिन दल प्रदेशको नाम मधेश राख्न उदृत देखिएपछि मिथिलाका लागि काम गर्नेहरुले यसलाई एउटा सभ्यताको हत्या गर्न खोजिएको बताएका छन् । नेकपा निकट मैथिली साहित्यकार, लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रमेश रंजन मिथिलाको ५ हजार बर्ष पुरानो सभ्यताको हत्या गरेर मधेश शब्द थोपार्नु ठीक नहुने धारणा राख्छन् । दलहरुले आफ्नो अनुकुलको नाम दिएपनि यहाँको इतिहासलाई बिर्सन नहुनेमा जोड् दिन्छन् उनी ।

मधेश शब्द राजनीतिक तबरबाट स्थापित भएको भन्दै उनी भन्छन्, “तर मिथिलाको परम्परा, यहाँको संस्कृति, यहाँको सभ्यता ५ हजार बर्षको छ । योभन्दा पुरानो कुनै सभ्यता छैन नेपालमा ।” मिथिला सभ्यतापछि नै शाक्य सभ्यता, उप्त्यकाको गोपालवंश महेश बंश सभ्यता आएको बताउँदै उनी संसारभरिको हिन्दू धर्मका ६ वटा पूर्वीय दर्शनहरुमध्ये चार वटा दर्शनहरु जनककालमा यहीं जनकपुरले निर्माण गरेकाले यहाँ ठूलो विद्वत परम्परा रहेको बताउँछन् ।

मिथिला क्षेत्रमा परापूर्वकालदेखि नै सांस्कृतिक धरोहरहरु रहेको बताउँछन् उनी । ‘जहाँ कुनै नामांकरण हुन्छ त्यसलाई परिचयले स्थापित गर्छ’ उनी भन्छन्, “यो परिचय मधेशले कसरी दिन सक्छ ? मधेश शब्दमा यो शक्ति नै छैन् जसले यो परिचय दिन सकोस् ।”

मधेश शब्द राजनीतिक तवरले स्थापित भएको र तराईको पूरा भू–भागलाई समेटेर मधेश शब्द बनेको उनको धारणा छ । ‘आठ वटा जिल्ला जुन मिथिला क्षेत्र हो, त्यसलाई मधेश बनाइदिने कुनै तबरले तार्किक देखिदैन्’ उनी भन्छन्, “एउटा सभ्यताको हत्या गरेर एउटा शब्दको उत्पति गरी स्थापित गरिए कुनै हिसावले ठीक हुँदैन् ।”

यद्यपी राजनीतिक विशुद्व सम्झौताको खेल हुने तर्क राख्छन् रंजन । राजनीतिले जनमतको ब्यालेन्स गर्ने गरेको बताउँदै उनी इमोसन, र यथार्थ एउटा कुरा भएपनि जनमत अर्काे कुरा भएको बताउँछन् । ‘यहाँ मधेश पक्षको पनि जनमत छ । मिथिला पक्षको पनि जनमत छ । यो दुबैको बीचमा राजनीति गर्नेका पनि जनमत छ, उनी भन्छन्, “यसैले अब एउटा कुरा मात्रै हुन्छ तीन वटा शक्तिकाबीचमा सम्झौता ।”

प्रदेश २ का ८ जिल्लामा जनसंख्याको हिसावले पनि मिथिलाभाषी बढी रहेको र भाषाको आधारमा पनि मैथिली अग्रणी रहेको उनको भनाई छ । ‘यसैभित्र भोजपुरी भाषी पनि छन् । सिम्रौनगढ विशुद्व मिथिलाको क्षेत्र हो । त्यस हिसावले मिथिलाको परिचयमा सबैलाई आनन्द छ’ उनी भन्छन्, “मिथिलाको सभ्यता बनेपछि संसारभरि परिचय बन्छ । पर्यटकीय क्षेत्र नै बन्छ । संसारभरिका व्यक्ति यहाँको संस्कृति अध्ययन गर्न आउन सक्छन् ।”

मिथिला ब्राण्डलाई क्यास गर्ने आधारहरु पहिलादेखि नै तयार रहेको बताउँदै उनी मधेश ब्राण्ड हुन नसकेको बताउँछन् । ‘बोर्डरदेखि पाँच किलोमिटर यता मधेश भइहाल्यो अनि ५ किलोमिटर उता मधेश छैन् ? उ किन मिथिला भयो ? को यस्तो अवधारणाकार छन् ? कहाँ यस्तो कुरा उनलाई भेटाईहाल्छ’ उनी भन्छन् ।

भारतको आर्यवर्त खण्डको नक्शा अध्ययन गरेमा यो क्षेत्र मधेश कहिले पनि नदेखिएको रंजनको भनाई छ । ‘मधेश शब्दलाई हामीले हेट गर्न खोजेका होइनौं, तर मिथिलालाई मारेर मिथिलाको छातीमा मधेशको पिलर गाडिए कसरी स्वीकार गर्ने ?’ उनी भन्छन्, “यो नैतिकता त होइन ?”

प्रदेशको नामांकरणमा जसको आधार छ, नामांकरणका लागि जे जे आधार चाहिन्छ, जे जे प्रकृयाहरु अपनाउनुपर्छ त्यसलाई सांसदहरुले इमान्दारीपूर्वक स्वीकार गरे मिथिला प्रदेश नै उचित हुने धारणा उनको छ । यद्यपी प्रदेशलाई नामांकरण गर्नुभन्दा प्रस्ताव पेश गरेर प्रदेश सरकारले बहसका लागि मात्रै छाडेको पनि बताउँछन् उनी । ‘किनभने कसैसँग दुई तिहाई छैन् । त्यसैले यो कार्यकालमा नामांकरण नै हुँदैन भन्ने संकेत हेरिरहेको छु’ उनी भन्छन् ।

विवाद चलिरहोस् भन्नका लागि मात्रै प्रस्ताव दर्ता गराइएको बताउँदै उनी सरकारले नामांकरण गर्नका लागि ठोस रुपमा अगाडि बढ्छ भन्ने कुरा कतै देखा नपरिरहेको उनको भनाई छ । यस बिषयमा राजनीतिक नभई बौद्विक रुपले बहस गर्नुपर्नेमा जोड् दिन्छन् उनी ।

‘मधेश आन्दोलनबाट आएकाहरु पनि मिथिला बिरोधी छन् भन्ने मलाई लाग्दैन’ उनी भन्छन्, “उहाँहरु प्नि पौराणिक कुराहरुलाई स्वीकार गर्नुहुन्छ । किन गर्नुहुन्न ?”– आजको जनकपुर टुडेमा यो खबर छापिएको छ ।

प्रकाशित : २०७६ कार्तिक ५, मंगलवार ०१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ