काठमाडौं, ५ कार्तिक । धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका हुन् ।
गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन् । यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ।
रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ। यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ ।
हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन रहेको समाचार आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ ।