काठमाडौं, ५ कार्तिक । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । देउसी भैलो गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाकाअनुसार, थापालाई अहिले टेकुमा राखिएको छ ।
उनले हालै युट्युबमार्फत सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले समाजलाई ‘मिस गाइड’ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रहरीले गायक थापालाई मंगलबार पक्राउ गरेको हो । सांस्कृतिक पर्वका रुपमा समेत लिइने तिहार पर्वको गीतमा बियर पिउने र गाँजा तान्नेजस्ता शब्द प्रयोग गरेपछि थापा विवादमा तानिएका हुन् ।
सामाजिक सञ्जालमा र कलाकारको समूहमा पनि दुर्गेश विवादमा परेका छन् । तिहार जस्तो पवित्र पर्वको गीतमा पनि यस्ता शब्द प्रयोग गरिएको भन्दै उनको विरोध भएको छ । गीतमा तिहारको बेला बियर खानुपर्ने प्रचार गरेका कारण सामाजिक सञ्जालमा पनि गीतको चौतर्फी आलोचना भइरहेको छ । प्रशासनको आग्रहमा गायक थापालाई प्रहरीले पक्राउ गरेको हो । युट्युबबाट गीत हटाए थापालाई छाडिदिने अन्यथा थुनामा राख्ने महाशाखाका प्रमुख थापाले बताए ।
तिहारको गीतमा दुर्गेशले गाएका छन् –
डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज १
यस संबन्धमा अन्य समाचारपनि पढ्नुहोस् !