बाँके, ५ कार्तिक। बाँकेमा कुल जमिनमध्ये ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यस वर्ष फौजी किराले झण्डै १७ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
फौजी किरा पूर्ण रुपमा नियन्त्रणमा नआएको र धान काट्न बाँकी रहेका कारण क्षतिको विवरण अझ बढ्न सक्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । नियन्त्रणका लागि किसानलाई सूचना प्रवाह, स्थलगत अनुगमन र केही स्थानमा विषादीको पनि प्रयोग भएको गरिएको छ । आगामी बालीमा समेत किरा लाग्ने सम्भावना भएकाले सचेतनालगायतका अन्य कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
फौजी किराको प्रकोप दिनप्रतिदिन बढ्दै गएपछि बाँकेमा किसानहरुले राम्ररी नपाकेको धान भित्राउन थालेका छन् । किसानहरुले मंगलबार नेपालगञ्जमा रहनुभएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारबाट सहयोगको आग्रह गरेका छन् ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले फौजी किरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा रहनुभएको छ ।साभारःउज्यालो अनलाइन