सप्तरी, ६ कार्तिक। राजविराजका युवकसँग प्रेम विवाह गरेकी बीरगंज महानगरपालिकाकी युवतीले आफ्नै आमाबुवाका कारण अत्यधिक दुःख खेप्नुपरेको गुनासो गरेकी छन् ।
गत माघ २ गते राजविराज १ निवासी रोक्की झासँग विवाह गरेकी बीरगंज महानगरपालिका ७ घर भएकी कंचन मिश्रले विवाह गरेकै समयदेखि आमाबुवाले आफू र आफ्ना पतिलाई तनाव दिदैं आएको बताइन् । राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले आफू अहिले नौ महिनाको गर्भवती भएपनि दुःख दिन नछोडेको बताएकी छन् ।
रोक्की तीन बर्षअघि बीरगंज पढ्न जाँदा प्रविणता प्रमाण पत्र तहमा अध्ययनरत कंचनसँग प्रेम बसेको थियो । एकले अर्कालाई मन पराउन थालेपछि दुबैले विवाह गर्ने मनाय बनाएका थिए । तर कंचनको परिवारले मानेका थिएनन् । परिवारले नमानेपछि कंचन र रोक्की गत माघ २ गते विराटनगर स्थित राधाकृष्ण मन्दिरमा विवाह गरेका थिए । कंचन अहिले नौ महिनाको गर्भवती रहेको बताएकी छन् ।
अहिले आफ्नो पतिको घर आएकी कंचनले आफू गर्भवती भएपनि आमाबुवाले नै धेरै दुःख दिएको बताएकी छन् । १९ बर्षकी कंचनले २४ बर्षीय रोक्कीसँग विवाह गरेपछि बुवा मनोज मिश्रा र आमा सावित्रीले लगातार मानसिक तनावसहित बिभिन्न दुःख दिदैं आएको उनको भनाई छ ।
आमाबुवाले आफ्नो अपहरण गरेको भन्दै श्रीमान् र ससुरा अमरकान्त झाबिरुद्व अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएपछि आफूलाई अत्यधिक तनाव भएको उनले बताइन् । उनले आफूलाई न्याय दिलाइदिन सबैसँग आग्रह समेत गरेकी छन् ।–आजको जनकपुर टुडे पत्रिकामा यो खबर छापिएको छ ।