जनकपुरधाम, ६ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य तथा संघीय साँसद राजेन्द्र महतोले सबै मधेसवादी दल एक हुनुपर्ने धारणा राखेका छन् । उनले देशमा तेस्रो ठूलो शक्तिको रुपमा स्थापित हुन मधेशवादी दल एक हुन जरुरी भएको पनि बताए ।
बुधवार शुभकामना अदान प्रदान तथा संसदीय क्षेत्र सम्पर्क कार्यलय उदघाटन समारोहपछि संचारकर्मीसंग बोल्दै साँसद महतोले मधेसवादी दलहरु एक हुनुको विकल्प नरहेको तर्क गरे । मधेसमा पार्टीको नाममा पसल थापेर राजनीति गर्न नसकिने पनि उनले टिप्पणी गरे ।
धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित साँसद महतोले बुधवार जनकपुरको मुरली चोकमा घर भाडामा लिएर क्षेत्रिय सम्पर्क कार्यालय संचालनमा ल्याएका छन् । जनतासँग सम्पर्क बढाउन र जनतालाई सहज रुपमा भेटेर समस्या समाधान गर्न कार्यालय संचालनमा ल्याएको साँसद महतोको भनाई छ ।