सिरहा, ६ कार्तिक । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले संघीय सरकार अझै लोकतान्त्रिक व्यवस्थालाई लत्याएर अगाडी बढिरहेको आरोप लगाएका छन् ।
बुधवार सिरहाको गोलबजारमा समाजवादी पार्टी क्षेत्र नम्बर ३ (क)द्धारा दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादबले यस्तो आरोप लगाए । उनले भने, ‘अझै सिंहदरबारले स्थानीय तह र प्रदेशलाई बजेट उपलब्ध नगराएर विभेद गरेको छ ।’
समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष समेत रहेका मन्त्री यादबले सिंहदरवारमा ७० प्रतिशत र ३० प्रतिशत बजेटबाट मात्र आधा आधा स्थानीय तह र प्रदेशलाई उपलब्ध गराएकोमा दुःख व्यक्त गरे । थोरै बजेट दिएपनि करिब हरेक जिल्लामा प्रदेश सरकारको विकास निर्माणको मामलामा उपस्थिति जनाएको उनको भनाई छ ।

उनले संघीय सरकारले राखेको बजेटबाट कहि कतै विकास निर्माणको काम नभएको समेत बताए । उनले कार्यक्रममा जिल्लाबासी, नेता तथा कार्यकर्ता सहित हरेक वर्ग, समुदायलाई पर्व तिहारको शुभकामना समेत दिएका छन् ।