सिरहामा पेट्रोल पम्पको बदमासी : मिटर बिगारेर कम पेट्रोल विक्री गरिरहेको खुलासा


सिरहा, ७ कार्तिक । जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा पेट्रोल पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तोकिएभन्दा कम तौलको पेट्रोल र डिजेल बेच्ने पेट्रोल पम्पलाई बुधबार शिलबन्दी गरिएको छ ।

चोहर्वा-सिरहा सहायक सडकखण्डमा पर्ने सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर चोकमा संचालित महतो फ्युल सेन्टरमा बुधबार जिल्ला प्रशासन, नापतौल तथा गुणस्तर कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जिल्लाका विभिन्न ठाउँमा संचालित पेट्रोलपम्पको अनुगमन गर्ने क्रममा लक्ष्मीपुर चोकस्थित महतो फ्युल सेन्टरले पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तौलभन्दा कम पेट्रोल र डिजेल बिक्री वितरण गरेको पाइएपछि तत्काल बिक्री वितरण समेत गर्न नपाउने गरी शिलबन्दी गरिएको बताए ।

महतो फ्युल सेन्टरबाट पेट्रोल दिइने पम्पको एडजस्टर बिगारेर पाँच लिटर पेट्रोलमा एकसय मिलिलिटर र डिजेल पम्पको डिस्प्ले बिगारेर पाँच लिटर डिजेलमा एक सय ४० मिलिलिटर कम बिक्री गरी उपभोक्ता ठगिरहेको सूचना अधिकारी आचार्यले उल्लेख गरे ।

‘पेट्रोलको एडजस्टर र डिजेलको डिस्प्ले बिगारेर तोकिएको तौलभन्दा कम पेट्रोल र डिजेल बिक्री वितरण गरी ग्राहकलाई ठगी गरेको भेटियो,’ उनले भने ‘संयुक्त अनुगमन टोलीले डिस्प्ले युनिट नाप तौल तथा गुणस्तर कार्यालयको जिम्मामा रहने गरी जफत गर्दै तत्काल पेट्रोल र डिजेलको बिक्री वितरण गर्न रोक लगाइएको छ ।’

प्रकाशित : २०७६ कार्तिक ७, बिहीबार ०२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ